हाम्रोबारे

श्रेष्ठ (चौधरी) परिचय

नेवार समुदायमा रहेका विभिन्न थरहरु मध्य श्रेष्ठ पनि एक हुन । बास्तबमा श्रेष्ठ भन्नाले कुनै ब्यक्तिहरुको थर भन्दा पनि एक पद भन्ने बुझिन्छ । जसरी प्रधान, काजी, ताल्चाभडेल भने जस्तै श्रेष्ठ पनि पदकै ओहदा हो । तर हाल भने श्रेष्ठ भन्नाले थरको रुपमा बिकास भएको छ । श्रेष्ठलाई नेपाल भाषामा स्यस्य: भन्ने गरिन्छ । स्यस्य: भनेको छ थरी श्रेष्ठ हुन । श्रेष्ठ अर्थात स्यस्य: अन्तर्गत कर्माचार्य, वैद्य, प्रधानांग, जोशी, महाजु अमात्य, पमा: प्रधान, भंडेल राजभण्डारी, मल्ल थाकुर/थाकुल/ थाकु/था, रघुवंशी, राजवंशी (सबै होइनन्), सिंह  (सबै होइनन्), बैदार, कोख:, कायस्थ/कसजु लगायतका थरहरु समावेश हुन्छन् । यस बाहेक लाकौल र मास्केसरीहरुले पनि श्रेष्ठ थर नै राख्ने गर्दछ । कुलदेवता बाघ भैरब  रहेका श्रेष्ठहरु प्रदेश नं. १ मा रहेको भोजपुर टक्सार खिकामाछा हाल भोजपुर न.पा. १२ पूर्वतर्फ अखुवा खोला र पश्चिमतर्फ पिखुवा खोलाको विचमा रहेको पहाडी समथर भु-भागमा बसोबास गर्दै आईरहेको छ । ब्यापार ब्यवसाय गर्ने उद्देश्य अनुसार मल्लकालीन राज्यकालमा काठमाण्डौं मखनटोल बाट  जगतसिंह उक्त स्थानमा बसाइँसराइ गर्नु भएको थियो । उक्त कुरा पौराणिक चौधरी (श्रेष्ठ) बंशावली बोधीवृक्ष किताबमा उल्लेख गरिएको पाईन्छ । उहाँका दुई श्रीमती मध्य जेठीतर्फबाट धनकृष्ण र कान्छीतर्फबाट श्रीकृष्ण, धनदेउ र धननारायण चारभाई छोराहरूको जन्म भएको थियो । यस मध्य श्रीकृष्ण कुशल पराक्रमी र चतुर भएका कारण त्यस पश्चात दुधकोशी पूर्व अरूणदेखी पश्चिम क्षेत्रमा आफ्नो प्रतिष्ठा कायम गर्दै ठेक्का लिई जनपरिचालन गर्ने काम गर्न थालेका थिए । त्यसवेला राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने समयमा त्यस थुमको जित हासिल गरेवापत "चौधरी" मान पदवी पाएका थिए । त्यस समय देखि श्रीकृष्ण चौधरी भनेर सम्बोधन हुन थाले । यसरी नेवार समुदायमा पनि चौधरी हुन पुगे । पछि आएर यसका सन्ततीहरुले श्रेष्ठ (चौधरी) भन्न थालेका थिए ।